दुधे चिनोः परिचय तथा खेती–प्रविधि
Authors: Sundar Rawat, Saroj Pant, Niranjan Pudasaini
Year: 2019
हुम्ला जिल्लामा खेती गरिने चिनोका विभिन्न जातहरुमा कप्ताडे, हाडे, कालो, दुधे, रातो आदि पर्दछन् । चिनोका यी विभिन्न जातहरु मध्ये खार्पुनाथ गाउँपालिका–४ (साबिकको छिप्रा गा.वि.स.) हुम्लामा मुख्य रुपमा खेती गरिंदै आइएको एक स्थानीय जात हो ‘दुधे चिनो‘ । यसको खेती समुद्री सतहबाट २००० मिटरदेखि २६०० मिटरसम्म गर्न सकिन्छ र विशेष गरी दाना उत्पादनका लागि यो जात निकै राम्रो मानिन्छ । दुधे चिनोको दाना सेतो हुने र छोटो समयमा नै पाक्ने भएकाले अन्य जातहरुभन्दा यस जातको खेती बढी मात्रामा गरेको पाइन्छ । सामान्यतया भात, खीर र रोटीका परिकारका रुपमा प्रयोग गरिने यस जातमा अन्य जातहरुमा भन्दा बढी फल्ने, सुख्खा तथा रोगकीरा सहने जस्ता जातीय गुणहरु पाइन्छन् । दुधे चिनोको पराल अन्य चिनोका जातहरुको भन्दा अग्लो र पशुहरुले मनपराउने हुनाले पशुपालनका लागि पनि उपयोगी मानिन्छ ।